Daily Feature News : Feb 2008
Daily Feature News »
बेलायतमा पापड बेल्दै सामवेद
- Achyut Koirala
केही महिनाअघि मात्र बेलायत छिरेका सङ्गीतकार सामवेदले बेलायतमा भान्से भएछन् भन्ने भ्रम नपाल्नुहोस् । किनभने उनी त्यहाँ वैदेशिक रोजगारीका लागि गएका भने होइनन् । तर उनी जे कामका लागि गएका हुन्, त्यसका लागि राम्रै पापड बेल्नु पर्ने भएको छ ।
साइबरसंसारसँग इमेलवार्ता गर्दै उनले भने- "नेपाली किसिमको सङ्गीतलाई ठूलो बजारमा पुर्याउने कामका ठूला बाधा देखेँ, हत्तपत्त म्युजिक कम्पनीले हामीलाई विश्वास नै नगर्ने !"
त्यति भए पनि उनले अहिले एक प्रोफेशर बब डिकिन्सन पाएका छन्, जसको मद्दतले उनले त्यहाँको स्थानीय सिटी लिट कलेजमा सङ्गीतमै कम्तीमा ६ महिना पढ्ने छात्रवृत्ति पाएका छन् । "मिल्यो भने बाँकी तीन वर्ष यही विषयलाई निरन्तर पढ्न पाउन सक्छु वृत्तिअर्न्तर्गत नै !" उनले बताए ।
अहिले त्यहाँका हिन्दी, पञ्जाबी गीतको एरेञ्ज गर्ने र कतिपय गीतलाई सङ्गीत भर्ने काम समेत पाएकाले उनी दङ्ग परेका छन् । बेलायतमा हिन्दी र पञ्जाबी गीतको राम्रो बजार देखेर उनी पनि उत्साहित भएका छन् ।
त्यसो त पछिल्लो समय 'नेचर एण्ड सोल'को क्षेत्रमा उनले गरेका कामबाट प्रभावित भएर बेलायतकै च्यानल फोरले उनीमाथि एउटा वृत्तचित्र बनाउने भएको छ । "यसका लागि अहिले लेखन कार्य धमाधम भइरहेको छ र आउँदो साल म चित्र खिच्न आइपुग्ने छु", उनले भने- "र, गिनिज बुक अफ वर्ल्डस् रेकर्डले "हिउँ" एल्बमलाई सबैभन्दा अग्लो चुचुरोमा विमोचित एल्बमका रुपमा मान्यता दिने सम्भावना प्रबल भएको छ ।"
यो खुशी साट्न पनि उनी नेपाल आउन लालायित भएका छन्, उनले भने- "वृत्तचित्र टोली र म यो खुशी बाँढ्न चाँडै आउने छौं, साथीहरुलाई खबर सुनाइदिनु होला ।"
Daily Feature News »
|